कृषिमा आधारित अर्थतन्त्रलाई कृषिजन्य उद्योगमा रुपान्तरित गरी आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी, दीगो र आत्मनिर्भर बनाउनु आजको आवश्यकता हो । अव्यवस्थित भू–उपयोग, उर्वर कृषि भूमिको गैर कृषिमा प्रयोग, बढ्दो उत्पादन लागत, उत्पादनका सामग्रीहरुको अपर्याप्त आपूर्ति, पूर्वाधारहरुको कमी, उपयुक्त प्राविधिक ज्ञान र शीपमा कमी, कृषकहरुको कमजोर व्यावसायिक क्षमता अनुसन्धान, शिक्षा र प्रसार बीचको त्रीपक्षीय सम्बन्धलाई मजवुत तुल्याई अनुसन्धानबाट विकास भएका प्रविधिहरु पर्याप्त मात्रामा विस्तार हुन नसक्नु जस्ता विविध कारणहरुले कृषि क्षेत्रमा आशातित उपलब्धि हासिल हुन सकेको छैन । साथै युवा जनशक्ति दिनानुदिन विदेशिने क्रम बढी रहेको सन्दर्भमा कृषि क्षेत्रमा श्रमिकको अभाव निजी क्षेत्रको लगानी आकृष्ट गर्नु पनि ठूलो चुनौतीकोरुपमा देखा परेको छ ।

     यस परिपेक्ष्यमा स्थानीय सम्भावना, तुलनात्मक लाभ र विशिष्ठ अवसरको उपयोग गर्दै समग्र मूल्य श्रृंखलाका अवयवहरुको एकीकृत संयोजन र परिचालन मार्फत कृषि औद्योगिकरण एवं यन्त्रीकरण उन्मुख दीगो आर्थिक अवसरहरु सृजना गरी निश्चित बालीको क्षेत्र विस्तार र उत्पादकत्वलाई बढाई निर्वाहमूखी कृषि प्रणालीलाई व्यावसायिक, प्रतिस्पर्धी, दीगो र आत्मानिर्भर बनाउने लक्ष्यका साथ नेपाल सरकार, कृषि विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना २०७३ श्रावणबाट लागू गरिएको छ । स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार गरिएको यो परियोजनालाई कृषि विकास रणनीति कार्यान्वयनको सहयोगी परियोजनाको रुपमा लिईएको छ । कृषि उत्पादनको विशिष्टिकृत क्षेत्र निर्माण, निर्यातयोग्य कृषि उपजहरुको मूल्य अभिबृद्धि तथा बजारीकरण गरी रोजगारीको अवसर सृजना लगायत कृषि औद्योगिकीकरणको दिशामा मापनयोग्य परिवर्तन सुनिश्चत गरी कृषि पेशालाई मर्यादित र सम्मानजनक व्यवसायकोरुपमा स्थापित गराउने यस परियोजनाको सोच रहेको छ ।
 यो परियोजना आ.व. २०७३/०७४ बाट प्रदेश नं. ६ मा रहेको उच्चपहाडी जिल्ला जुम्लामा सुरु गरिएको छ । यस जिल्लाको भौगोलिक सम्भावनाकारुपमा पहिचान भई आएको स्याउको व्यावसायिक उत्पादन, बजारीकरण तथा प्रशोधन केन्द्र (सुपर जोन) विकास कार्यक्रम सञ्चालनको लागि गत वर्ष २०७३ मंसिर ९ गते चन्दननाथ नगरपालिका ६, जुम्लामा परियोजना कार्यान्वयन इकाई, सुपर जोन (स्याउ) को कार्यालय स्थापना भई परियोजनाको मूल दस्तावेजमा उल्लेख भएअनुसार चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकामा कार्यक्रम सञ्चालन भईरहेको छ ।